You Are Here: Home» समाचार » के सुझाव दिए आन्दोलनबारे नागरिक समाजले कङ्ग्रेस र एमालेलाई?

काठमाडौँ, मङ्सिर २ - नागरिक समाजका अगुवाहरुले विपक्षीहरुले गर्न लागेका आन्दोलनलाई निरङ्कुशताविरुद्धको आन्दोलनका रूपमा परिभाषित गरी निर्वाचनका लागि केन्द्रित गर्न सुझाव दिएका छन्। नेपाली कङ्ग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतका १५ दलहरुले आजदेखि सुरु गरेको चरणबद्ध आन्दोलनका बारेमा नागरिक समाजसँगको अतरक्रियामा उनीहरुले विपक्षीको आन्दोलन निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन्। 
कङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको छलफलमा नागरिक समाजका अगुवाहरुले सरकार कामचलाउ भइसकेकाले विपक्षी दलहरुले सरकारको राजीनामा माग्ने नभई सहमतिको प्रयासमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने सुझावसमेत दिएका छन्।
छलफलको प्रारम्भमा कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनका बारेमा जानकारी गराउँदै सरकारको सर्वसत्तावादलाई परास्त गरी सहमतिको सरकार गठन गर्न र मुलुकलाई निर्वाचनका माध्यमबाट निकास दिनका लागि आन्दोलन थालिएको जानकारी गराए।
छलफलमा नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले लोकतन्त्रको रक्षा र सर्वसत्तावादलाई परास्त गर्नका लागि विपक्षीले थालेको आन्दोलनको मार्ग स्पष्ट हुनुपर्ने भन्दै स्पष्ट कार्यदिशा तय गरी गरिने आन्दोलनले सही गन्तव्यमा पुग्नेमा जोड दिए।
छलफलमा नागरिक अगुवाहरु हरिहर दाहाल, प्रा डा वीरेन्द्र मिश्र, शम्भु थापा, रामेश्वर उपाध्याय, कनकमणि दीक्षित, सुवोध प्याकुरेललगायतले स्पष्ट दृष्टिकोण बनाएर नयाँ निर्वाचन र राष्ट्रिय सरकारका लागि सहमति कायम गर्ने उद्देश्यका साथ आन्दोलन तय गर्न सुझाव दिएका थिए।
नागरिक समाजका अगुवाहरुको सुझावपछि कङ्ग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सत्ता गठबन्धनले मुलुकमा सर्वसत्तावाद लादेर विपक्षीको सुझाव नै नलिई एकलौटी ढङ्गले सहमति कायम गर्न नभई सत्ता हाँक्न लागेकाले आन्दोलन थालिएको र सो आन्दोलनलाई नयाँ निर्वाचनमा केन्द्रित गराइने बताए।
एमालेका अध्यक्ष झलनाथ खनालले नागरिक समाजका प्रतिनिधिबाट आएका सुझावलाई शिरोधार्य गरी विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्न तयार भएको र आन्दोलनमा सबै तह र तप्काको सहयोग हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नयाँ निर्वाचनबाटै मुलुकको लोकतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न र चाँडो सहमतिमा पुग्न आन्दोलनले एउटा स्पष्ट दिशा बनाउने चर्चा गरे।
कङ्ग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतका १५ दलहरुले सर्वसत्तावाद र निरङ्कुशताविरुद्ध गत कात्तिक अन्तिम सातामा विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेपछि आज नागरिक समाजका अगुवासँग छलफल गरिएको हो। रासस

0 comments

Leave a Reply