You Are Here: Home» समाचार » निगमको टयाङ्करबाट तेल चोर्ने पक्राउ


७ पुस, मोरङ । विराटनगर उपमहानगरपालिका-५ स्थित नेपाल आयल निगमको टयाङ्करबाट डिजल र मट्टीतेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा विराटनगर-५ का गोपी राजवंशी र सुनसरी औरावनी-६ बस्ने कृपालाल माझी रहेका छन् । उनीहरुलाई चोरी गरेको डिजल, मट्टीतेल बिक्री गर्दै गरेको अवस्थामा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक शिव श्रेष्ठले बताउनुभयो ।
निगमको टयाङ्करबाट तेल चोरी भएको सूचना पाएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले विराटनगर-५ का जिवस माझी र सोही ठाउँका कुमराह राजवंशीसँग पनि अनुसन्धान थालेको छ । जिवस र कुमराहको घरमा खानतलासी गर्दा अवैध रुपमा भण्डारण गरेर राखिएको २ सय २० लिटर तेल -इन्धन) साथै तेल राख्न प्रयोग गरेका ड्रम, तेल ओसारपसार गर्न प्रयोग गर्ने मोटरसाइकल एक थान, साइकल एक थान र तेल नाप्ने १० लिटर, पाँच लिटर र दुई लिटरका नापतौलका सामग्री र तेल निकाल्ने पाइपसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरु लामो समयदेखि निगमको टयाङ्करबाट तेल चोरेर बिक्री गर्ने गिरोह हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

0 comments

Leave a Reply