
पौष ६ । भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको बसमा एक युवतीलाई सामूहिक बलात्कार गर्नेहरुलाई सख्त कारबाहीको माग गर्दै महिलाहरुले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौं महिला तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सामूहिक बलात्कारको मामिलामा सरकार गम्भीर नबनेको भन्दै प्रदर्शनकारीले भारतको केन्द्र र दिल्ली सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । सरकारले भने घटनामा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले पनि उक्त घटनाको निन्दा गरेको छ । लैंगिक समानताका लागि राष्ट्र संघीय संस्था यु्एन वुमनको क्षेत्रिय कार्यक्रम निर्देशक एन एफ स्टेह्यामरले सामूहिक बलात्कारको घटनाबाट भारतीय महिलाहरुको अस्मितामाथि प्रहार भएको भन्दै यसप्रति गम्भीर हुन भारत सरकारको ध्यानाकर्षण गराएका हुन् । सामूहिक बलात्कारको शिकार बनेकी युवतीको अवस्था भने अझै गम्भीर रहेको बताइएको छ । दिल्लीको सफदरजंग अस्पतालमा उपचारको क्रममा रहेकी २३ बर्षिय युवतीको शल्यक्रिया सफल भएपनि अवस्था अझै गम्भीर रहेको अस्पतालले जनाएको छ ।














0 comments