You Are Here: Home» समाचार » पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौं: गाउँले

काठमाडौं,पुष २६ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताउनुभयो । पत्रकार थापाको हत्याका आरोपीहरुमाथिको कारबाही प्रक्रिया अघि नबढाउन सरकारको माथिल्लो तहबाट दबाब दिइएको भन्दै माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष गाउँलेले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले पहरोसँग कुहिनो ठोक्काउने प्रयास गरेको भन्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईका अभिव्यक्तिका कारण सो मुद्दा अदालतमा पुग्न ढिलाइ भएको दाबी गर्नुभयो । आफूहरु प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै पनि नझुक्ने जनाउँदै पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको बताउनुभयो । उहाँले पत्रकार कृष्णसेन इच्छुकदेखि थापासम्मका हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले मुखमा कालोपट्टी बाँधेर एक घण्टा प्रदर्शन गरेका थिए । त्यस अवसरमा वरिष्ठ पत्रकार सोमनाथ घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी,  टेलिभिजन एडिटर्स गिल्डका अध्यक्ष महेन्द्र विष्ट, छापामाध्यम राष्ट्रिय सञ्जालका महासचिव किशोर श्रेष्ठ, चौतारीका वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य र महासचिव विष्णु रिजालले प्रेस स्वतन्त्रतामाथि  हुने सबै प्रकारका आक्रमणविरुद्ध निरन्तर आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । रासस

0 comments

Leave a Reply