जहाँ दुर्लभ एकसिंगे गैंडा र पाटेबाघको सबैभन्दा धेरै संख्या छ। यो क्षेत्र संरक्षणका हिसाबले पनि निकै सम्बेदनशिल क्षेत्र मानिन्छ। ध्रुवे यतै आएको रेडियो कलरको संकेतले टोली उतै पुगेको रेन्जर विष्णु थपलिया बताउँछन। ध्रुवे मार्ने स्थानीय प्रशासनको कडा आदेश सिरोपर गर्न भन्दै टोलीले अरु जंगली जनावर बिर्सेको छ। नेपालमा दुर्लभ हुँदै गएको गैंडा र बाघलाई समेत तर्साउने गरेर सुकेभारमा सेनाको टोलीले आज या भोलि ध्रुवेमाथि फायरिंग खोल्ने तयारी गरेको छ जुन उनीहरुकै लागि पनि अहितकर हुनसक्ने अनुमान संरक्षणकर्मीहरुको छ। पर्यटक जंगल सफारीमा जाँदा जिपले हर्नबजाउन समेत प्रतिवन्ध गरिएको क्षेत्रमा हात्तीका लावालस्कर र बटालियन टोलीको गाडीसँगसँगै हिँडिरहेको छ।
'खासै फरक पर्दैन प्राय हात्तीमा चढेका छन् गाडीमा भएपनि कच्ची बाटोमा छ ',प्रमुख संरक्षण अधिकृत झमक कार्कीले गैडा र बाघमा मानव अतिक्रमणले पर्ने असर पन्छाउदै भने।
बाघ विज्ञ रहेका उनी बाघलाई एकान्त दिनसके जनसंख्या बढ्ने बताउँछन्। तर बाघको बासस्थानमा गएर फायरिंग खोल्ने उनको तयारी गलत भएको पूर्व संरक्षणअधिकृत रामप्रीत यादव बताउँछन्।
सुकेभार भनेको अत्यन्तै धेरै गैंडा र बाघ हुने ठाउँ हो उनी भन्छन् त्यहाँ एकगोली पड्क्यो भने त जनावरको भागाभाग हुन्छ, झन् कयौं फायरिंग खोल्दा अनुमान गर्न सकिन्न। मार्ने नै कडा निर्णय सरकारी पक्षबाट भैसकेकाले हात्ती नमारी नछाड्ने अडानमा कार्की छन्। तर सुरक्षित तरिकाले काम गर्नुपर्छ भन्ने तरिकालाई उनले वेवास्ता गरेको आरोप संरक्षणकर्मीहरु लगाउँछन्।
ध्रुवे हात्ती मार्न कम्तीमा पनि नौ गोली हान्नैपर्ने निकुञ्ज पदाधिकारीले बताउदै आएका छन्। तर गोलीको आवाजले जनावरमा पर्नसक्ने असरका बारेमा सचेत नरहेको यादवले बताए। पहिले त हात्ती मार्नै हुन्न उनी भन्छन् हात्तीको घरमै पसेर हात्ती मार्नुको कुनै औचित्य हुन्न। बौलाएको प्रमाणित भए र मार्नै परे वन्यजन्तुको भिड नहुने क्षेत्रमा लगेर गोली हान्नुपर्छ।
रियु खोला र राप्ती नदीले घेरिएको सुकेभार गैंडा र बाघको प्रिय स्थान हो। दुईतिर पानी र विचमा जंगल भएकाले उनीहरुको भोकप्यास मेट्न यसले निकै सजिलो पुर्याउछ। रियु आएर राप्तीमा मिल्ने सुन्दर घाट भएकाले पनि यो क्षेत्रमा अन्य वन्यजन्तुको पनि राम्रो बसोबास छ।
ध्रुवे अपरेसनमा गोली चलाउदा बाघ गैंडामा मानसिक तनाव पैदा भएर मानव वस्तीमा छिर्नसक्ने बढी सम्भावना रहने यादवले बताए। राम्रो वासस्थानलाई नखल्वल्याउन पनि उनले आग्रह गरेका छन्।
उनीजस्तै चराविज्ञ बासु बिडारी पनि संरक्षित क्षेत्रमा संरक्षणकर्मीहरुले नै नकारात्कम काम गरिरहेको बताउछन्। हात्ती जंगली जनावर भएकाले उसलाई सुरक्षित महसुस गराएर जंगलमै छाडनुपर्ने उनी बताउछन्। अन्य जनावरको समेत होस उडाउने गरि जंगलमा बन्दुक चलाउन खोजिए जंगलमा त्रास फैलने उनी उल्लेख गर्छन्। जाडोमा अन्यत्रबाट आउने पंक्षीहरु निकुञ्जकै जंगलमा प्रसस्त रहेकाले तिनको संरक्षणमा पनि ध्रुवे अपरेसनले असर पार्ने उनले दाबी गरे। एकसय ३२ वर्गकिलोमिटर क्षेत्रमा लामो आकारमा फैलिएको चितवन निकुन्ज ७ सय ५० वर्गकिलोमिटरको मध्यवर्ती वनहरुले घेरिएको छ। एकसय ८१ स्तनधारी प्राणी रहेको क्षेत्रमा यहाँ ५ सय ३ वटा गैंडा,१सय २५ पाटेबाघ,१ सय २ घडियाल छन्। त्यस्तै निकुञ्ज क्षेत्रमै ८ सय ७१ पंक्षी छन्।
 















 
 
0 comments