You Are Here: Home» समाचार » डेकेन्द्रका 'हत्यारा' सेनाको प्रशिक्षणमा


कमल परियार, काठमाडौँ, पुस २७ - पत्रकार डेकेन्द्र थापालाई यातना दिई बर्बरतापूर्वक हत्या गरेको घटनाका अभियुक्तमध्ये एक नेपाली सेनाको त्रिशुली ब्यारेकमा सेनाको प्रशिक्षणमा रहेको खुलेको छ। दैलेख छिउदिपुसाकोट गाविसका पूर्व माओवादी लडाकु बमबहादुर खड्का 'अरुण' नेपाली सेनामा समायोजन हुन अहिले प्रशिक्षणमा रहेको विभिन्न स्रोतहरुले पुष्टि गरेका छन्।
उनी सुर्खेतको दशरथपुरबाट समायोजन प्रक्रियामा संलग्न भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार खड्काले आफ्नो वास्तविक नाम परिवर्तन गरेर समायोजन प्रक्रियामा सहभागी भएको हुनसक्छ।
नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले अभियुक्त खड्का सैनिक मुख्यालयमा रहेको नामसूचिमा नरहेको बताउँछन्। समायोजन प्रक्रियाका क्रममा उनले नाम परिवर्तन गरे नगरेकोबारे पुष्टि हुन बाँकी रहेको उनको कथन थियो।
सेना समायोजन विशेष समितिका सचिवालयका संयोजक बालानन्द शर्माले हत्याको अभियोग लागेका कोही व्यक्ति प्रशिक्षणमा रहेको भए निकालेर थप छानबिन गर्न आवश्यक रहेको बताए। तर त्यसका लागि सम्बन्धित पक्षहरुले यसको पुष्टि गर्नुपर्ने बताए।
प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले औपचारिक रुपमा यसको पुष्टि भएपछि अभियुक्तलाई पक्रन कुनै कसर बाँकी नछाड्ने बताए। प्रहरीले यसै साता पत्रकार थापाको अपहरण र हत्यामा संलग्न भएको अभियोग लागेका आठ मध्ये पाँच जनालाई पक्रेको थियो। घटनामा संलग्न भएको आरोप लागेका छिउडीपुसाकोट गाविसका बमबहादुर खड्का, कट्टी गाविसका बमबहादुर खड्का र द्वारी गाविसका केशव खड्का भने फरार छन्।
स्रोतका अनुसार कट्टी गाविसका बमबहादुर खड्का आफ्नी आमाको उपचारका लागि काठमाडौँमा रहेका छन् भने केशव खड्का भारतमा छन्।
पक्राउ परेकाहरु मध्ये लक्ष्मीराम घर्ती मगर, वीरबहादुर केसी, निरकबहादुर घर्ती मगर, हरिलाल पुन मगर र जयबहादुर शाहीलाई भने अदालतले थप अनुसन्धानका लागि जिल्ला अदालतले बिहीबार सात दिनको न्यायिक हिरासतमा पठाएको छ।

0 comments

Leave a Reply