८ पुस, काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बिश्वसामु चिनाउने र शान्तिको शहर बनाउने उदेश्यले केही काम शुरु भएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय समिति नै गठन गरेर अभियान शुरु गरिएको छ । बुद्धको जन्मस्थानको तीन किलोमिटर वरपरको क्षेत्रलाई समेटेर अहिले एउटा गुरुयोजना तयार भएको छ । कोरियाका एकजना प्राध्यापकले तयार पारेको गुरुयोजना कमलको फूल आकारको छ ।
गुरुयोजनामा योजना
नवलपरासरीको देवदह रामग्राम र लुम्बिनी क्षेत्र तथा कपिलवस्तुका गुथिहवा, तिलौराकोट, निग्लीहवा र कुडान क्षेत्रलाई समेट्नेगरी गुरुयोजना निर्माण भएको हो । लुम्बिनीलाई बीचमा राखेर चारैतिर पाँचपाँच माइल बन्ने गुरुयोजनामा उल्लेख छ । गुरुयोजनामा बुद्ध, धर्म, संघ र उपासक गरी चार क्षेत्र हुने उल्लेख छ ।
लुम्बिनीमा अन्तर्राष्टियस्तरको विमानस्थल, सडक, होटल र सम्मेलन केन्द्रहरु निर्माण गर्ने योजना पनि छ । रेल सेवा संचालन, अस्पताल निर्माण, बौद्ध विश्वविद्यालय पनि बन्नेछन । त्यस्तै लुम्बिनी क्षेत्रको संचार, विद्युत र खानेपानीको क्षेत्रमा समेत ठूलो परिवर्तन गरिनेछ । गुरुयोजना अनुसार हरेक वर्ष नेपालको लुम्बिनीमा ५० लाख पर्यटक भित्राउने उल्लेख छ ।
तीन खर्बको जोहो
गुरुयोजना अनुसार लुम्बिनीको स्वरुप बनाउन झण्डै तीन खर्ब रुपैयाँ लाग्ने अनुमान छ । एपेक र निर्देशक समितिबीच दुई खर्ब २५ अर्बको सम्झौता यसअघि नै भैसकेको छ । खर्च जुटाउनेबारे भारत, चीन, जापान, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघ, विश्व बैंक र युनेस्कोसँग पनि छलफल भैसकेको निर्देशक समितिका सदस्य नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो । ‘विभिन्न देशमार्फत सहयोग संकलनको कुरा भैरहेको छ’ उहाँले भन्नुभयो-’संयुक्त राष्ट्रसंघले नै लुम्बिनीको बिकासमा ठूलो योगदान दिने हाम्रो विश्वास छ ।’
कोरियाली प्राध्यापक क्वाकले सबैभन्दा बढी खर्च चिनियाँ संघसंस्था मार्फत संकलन गरिने जानकारी दिएका छन् । सरकारले लुुम्बिनीको विकासका लागि २०६८ असोज ३० मा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको थियो । एपेकका उपाध्यक्ष सिआओ उनानका अनुसार लुम्बिनीको विकासमार्फत नेपाल, दक्षिण एसिया र विश्वमा शान्तिका सन्देश फैलाउने उदेश्य छ ।
सरकारले २०६२ मा लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने निर्णय गरेको थियो ।















0 comments