You Are Here: Home» समाचार » अब प्रधानमन्त्री छान्ने पालो उपराष्ट्रपतिको ?


८ पुस, काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले सरकार गठन नभई भारत भ्रमणमा नजान आग्रह गर्दागर्दै राष्ट्रपति डा. रामवरण यादव सोमबार भारत भ्रमणमा निस्किएको स्थितिमा नयाँ प्रधानमन्त्री छान्ने जिम्मा संविधानतः उपराष्ट्रपति परमानन्द झाले पाउनुहुने भएको छ ।’यो संविधानले नै दिएको अधिकार हो, राष्ट्रपतिज्यूको अनुपस्थितिमा उहाँले उपराष्ट्रपतिजीलाई लिखित अख्तियारी दिएर जानुपर्ने हुन्छ ।’
उपराष्ट्रपति कार्यालयका एक अधिकारीले आइतबार अनलाइनखबरसँग भने- ‘तर राष्ट्रपतिज्यूबाट अहिलेसम्म त्यस्तो अख्तियारी आएको छैन । आज उपराष्ट्रपतिजी कार्यालयमा हुनुहुन्न, जापानी दूताबासद्वारा आयोजित कार्यक्रममा जानुभएको छ ।’विगतमा पनि राष्ट्रपतिले भारत जाँदा उपराष्ट्रपतिलाई अख्तियारी सुम्पेर जाने गर्नुभएको तर, त्यतिबेला उपराष्ट्रपतिले सम्पादन गर्नुपर्ने काम खासै जटिल नभएको उहाँको कार्यालयले बताएको छ । यसपटक भने राष्ट्रपतिको अनुपस्थितिमा दलहरुले प्रधानमन्त्रीको नाम सिफारिस गरेको खण्डमा उपराष्ट्रपतिबाटै प्रधानमन्त्री चयन हुनसक्ने स्रोतको तर्क छ । यद्यपि राष्ट्रप्रतिको भारत भ्रमण स्थगित हुन सक्ने आशासमेत उपराष्ट्रपति कार्यालयले गरेको छ ।
सोमबार भारत भ्रमणमा जान लागेका राष्ट्रपतिले आजै राजनीतिक दलहरुलाई छलफलका लागि शीतल निवास डाक्नुभएको छ । तर, आजै प्रधानमन्त्रीको नाममा सहमति हुने सम्भावना कम रहेको हुनाले फेरि नयाँ म्याद थपिने सम्भावना रहेको बताइन्छ । राष्ट्रपतिले म्याद थप गरेर भारत भ्रमणमा जाँदा तत्कालै केही गर्नुपर्ने भए उपराष्ट्रपतिले गर्नुपर्ने हुन्छ । अन्तरिम संविधानको धारा ३६.छ (१) मा भनिएको छ- ‘नेपालमा एकजना उपराष्ट्रपति रहने छन् ।’ त्यसैगरी सोही धाराको उपधारा -२) मा यो पनि भनिएको छ ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने छ ।’
यसैवीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्री एकनाथ ढकालले उपराष्ट्रपति परमानन्द झालाई नै प्रधानमन्त्री बनाउनुपर्ने अनौठो प्रस्ताव राख्नुभएको छ ।

0 comments

Leave a Reply